वीरगन्ज,२६ चैत । करिब छ दशकदेखि नेपाली राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका शेरबहादुर देउवा को राजनीतिक यात्रा गम्भीर संकटमा परेको छ। पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी अनुसन्धानका लागि सरकारले पक्राउ पुर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले देउवा दम्पतीका नाममा रहेको चल–अचल सम्पत्ति रोक्का गरिसकेको छ। साथै उनीहरूलाई फरार सूचीमा राखिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार विदेशमा रहेका देउवा दम्पतीलाई नेपाल फर्काउन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारीसमेत भइरहेको छ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले विभागको प्रतिवेदनका आधारमा पक्राउ अनुमति दिएको बताइएको छ। देउवा र उनका निकट सहयोगी तथा भतिज भानु देउवा १३ फागुनमा सिंगापुर प्रस्थान गरेका थिए भने आरजु राणा देउवा दिल्ली हुँदै सिंगापुर पुगेको र हाल हङकङमा रहेको जानकारी पनि सार्वजनिक भएको छ।
यस घटनाले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। विश्लेषकहरूका अनुसार यसले कांग्रेसभित्र मात्र होइन, समग्र राजनीतिक वातावरणमै नयाँ तनाव र अनिश्चितता थपेको छ।

