रौतहटमा लेखापढी व्यवसायी पक्राउविरुद्ध आन्दोलन, रिहाइको माग

spot_img

रौतहट,२६ चैत । गौर र चन्द्रपुर क्षेत्रका मालपोत कार्यालयसँग सम्बन्धित घटनामा पाँच जना लेखापढी व्यवसायीलाई बिना ठोस प्रमाण नियन्त्रणमा लिएको भन्दै पेशागत संघ–संस्थाले आपत्ति जनाएका छन्। उनीहरूले तत्काल रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट मा ज्ञापनपत्र बुझाएका छन्।

गौरबाट चार जना र चन्द्रपुरबाट एक जना व्यवसायीलाई नियन्त्रणमा राखिएको घटनाप्रति व्यवसायीहरूले कडा विरोध जनाएका हुन्। उनीहरूको भनाइमा अदालतबाट वैधानिक लाइसेन्स प्राप्त गरी मालपोत कार्यालयमार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका व्यवसायीमाथि गरिएको कारबाही अन्यायपूर्ण छ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौर–रौतहटका अध्यक्ष हरिनारायण साह, चन्द्रपुर इकाइ अध्यक्ष दिननारायण चौधरी, गरुडा इकाइ अध्यक्ष हेमलाल साह र मौलापुर इकाइ अध्यक्ष बालेकिस्मत यादवलगायतका प्रतिनिधिहरूको सहभागितामा ज्ञापनपत्र बुझाइएको हो।

व्यवसायीहरूले सेवा प्रवाहमा सहयोग गर्दै आएका व्यक्तिहरूमाथि अचानक गरिएको नियन्त्रणले पेशागत प्रतिष्ठामा आँच पुगेको दाबी गरेका छन्। साथै, सम्बन्धित निकायसँग समन्वय गरी समस्या छिटो समाधान गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय