रौतहट,१९ वैशाख । रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई चितवनमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
घटना २०६४ जेठ २० गते रातिको हो। साबिक जयनगर–४ स्थित गोठघरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार हत्याको कारण ऋण र जग्गा विवाद रहेको देखिएको छ। अभियुक्त राम विलासले विभिन्न व्यक्तिसँग ऋण लिएको र जग्गा विवादसम्बन्धी मुद्दा पनि चलिरहेको अवस्थामा मुद्दाको खर्च जुटाउन तथा विपक्षीलाई फसाउने उद्देश्यले आफ्नै बुबाको हत्या गरेको खुलेको हो।
प्रहरीका अनुसार हत्यापछि शंका लाग्ने डरले उनी परिवारसहित फरार भएका थिए। लामो समयको खोजतलासपछि उनी १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनबाट फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका महतोमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।




