नेपालगन्ज,२६ वैशाख । बाँके प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा उनीहरूलाई अवैध भारतीय नोटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ एकलैनी क्षेत्रबाट नरैनापुरतर्फ जाँदै गरेको अटो रिक्सामा जाँच गर्दा भारतीय ५०० र १००० दरका नोट बरामद गरिएको हो। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन्।
प्रहरीले बरामद रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरमा बुझाइसकेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
भन्सार छलीका सामान पनि बरामद
यसैबीच, प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट करिब ३ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान पनि बरामद गरेको छ। वडा नम्बर ३, १० र १७ क्षेत्रमा गरिएको कारबाहीका क्रममा चुरोट, पान मसला, पेय पदार्थ तथा बोइलर कुखुरा ओसारपसारमा प्रयोग भएका मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको छ।




