काठमाडाै,२९ वैशाख । धादिङको गल्छी गाउँपालिका अन्तर्गत बैरेनी क्षेत्रमा गएराति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङ का अनुसार पृथ्वी राजमार्गमा राति करिब ११ः३० बजे सडकमा रोकिएको ट्रकलाई पछाडिबाट यात्रुवाहक बसले ठक्कर दिएको थियो। त्यसलगत्तै अर्को बसले पनि अगाडिको बसलाई पछाडिबाट ठक्कर दिँदा ठूलो दुर्घटना भएको हो।
दुर्घटनापछि घाइते भएका यात्रुहरूको उद्धार इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयवासीको सहयोगमा गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो।
प्रहरीका अनुसार घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि घर पठाइएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पतालमा रेफर गरिएको छ। घाइतेमध्ये धेरैको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधनमा कुल ६८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घटनापछि तीनै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।





