काठमाडाै,२९ वैशाख । नेपाल सरकार ले छिमेकी मुलुकसँग देखिएका सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सीमा समस्याको समाधान वार्ता र कूटनीतिक संवादबाट खोजिने उल्लेख गरिएको हो।
सरकारले हालै लिपुलेक पास सम्बन्धी विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाएको पृष्ठभूमिमा नीति तथा कार्यक्रममा आएको यो सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालले आफ्नो भूमि प्रयोग गरी भारत र चीनबीच तीर्थयात्री आवतजावत गर्ने घोषणाप्रति आपत्ति जनाउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराएको थियो।
विश्लेषकहरूका अनुसार पछिल्लो घटनाक्रमले नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमसत्ताप्रति स्पष्ट अडान राख्दै संवादको बाटो खुला राख्न खोजेको संकेत दिएको छ। नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।
पूर्वराजदूत नीलाम्बर आचार्य ले सीमा विवादको सुरुआत बाह्य पक्षबाट भएको उल्लेख गर्दै नेपालले कूटनीतिक रूपमा आफ्नो धारणा राखेको बताए। त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री कमल थापा ले सीमा समस्या समाधानका लागि निरन्तर संवाद आवश्यक भए पनि त्यसकै कारण छिमेकी सम्बन्ध प्रभावित हुन नहुने धारणा राखेका छन्।
नीति तथा कार्यक्रममा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गर्ने उल्लेख गरेको छ। साथै, छिमेकी तथा मित्र राष्ट्रसँग पारस्परिक सम्मान, लाभ र सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिने सरकारको भनाइ छ।
सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिसँग जोड्दै पर्यटन, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति पनि अघि सारेको छ।
कूटनीतिक क्षेत्रका जानकारहरूले संवाद र उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार नेपालले आफ्नो राष्ट्रिय हित जोगाउँदै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र व्यवहारिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको छ।




