spot_img

अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन डोजर परिचालन

spot_img
spot_img

बारा,०१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सडक, वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सुरु गरिएको छ। शुक्रबार बिहानदेखि प्रशासनले राजमार्ग आसपासका अवैध घरटहरा हटाउन थालेको हो।

राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका करिब ३५ घरधुरी तथा लामो समयदेखि सञ्चालनविहीन रहेको एक सामुदायिक विद्यालयको भवन भत्काउने कार्य बिहान ७ बजेदेखि सुरु गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। अतिक्रमण हटाउने अभियान डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सञ्चालन भइरहेको छ। अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको ठूलो संख्या परिचालन गरिएको छ।

संरचना हटाउने क्रममा केही समय स्थानीयवासी र प्रशासनबीच सामान्य तनाव तथा धकेलाधकेलको अवस्था सिर्जना भए पनि अहिले स्थिति नियन्त्रणमा रहेको सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्। प्रशासनका अनुसार राजमार्गको ३ नम्बर पुल आसपास अतिक्रमण गरी बसोबास गर्ने अधिकांश व्यक्ति मकवानपुरका स्थायी बासिन्दा हुन्। उनीहरूले उक्त क्षेत्रमा होटल तथा साना व्यवसाय सञ्चालन गर्दै आएका थिए।

डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्रको दायाँबायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो अधिकार क्षेत्रभित्रका अतिक्रमित संरचना हटाउन थालेका हुन्।

सुरक्षाकर्मीको निगरानीमा सडक किनारका अवैध संरचना हटाउने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय