बीरगन्ज,०१ जेठ । सरकारले तयार पार्न लागेको संविधान संशोधनसम्बन्धी बहसपत्रको छलफलमा पर्साका तीन जना जेनजी युवा सहभागी हुने भएका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले युवाहरूको धारणा समेट्ने उद्देश्यले उनीहरूलाई छलफलमा आमन्त्रण गरेको हो।
कार्यदलले थप २० जना जेनजी युवालाई छलफलमा बोलाउने निर्णय गरेअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोट भएका हुन्।
कार्यदलका सदस्य–सचिव लिलाधर सुबेदीका अनुसार उनीहरूलाई शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने छलफलमा सहभागी हुन औपचारिक रूपमा आमन्त्रण गरिएको छ।
संविधान संशोधनसम्बन्धी बहसपत्रमा युवा पुस्ताको धारणा, सुझाव र सरोकार समेट्ने उद्देश्यले जेनजी प्रतिनिधिहरूलाई सहभागी गराइएको कार्यदलले जनाएको छ।




