spot_img

जसपा–लोसपा एकतामाथि ह्रदयश त्रिपाठीको असन्तुष्टि

spot_img
spot_img

काठमाडौँ,०३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच भएको पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले गम्भीर असहमति व्यक्त गरेका छन्। यद्यपि उनले दुई दलबीचको एकतालाई स्वागतयोग्य कदम भनेका छन्।

त्रिपाठी लोसपासँगको सहकार्यपछि जसपा नेपालको एकता प्रक्रियामा सहभागी भएका थिए। तर पछिल्लो समय निर्वाचन आयोगले दिएको मान्यतामा उनको पार्टी समावेश नभएपछि विवाद सतहमा आएको हो। जसपा नेपालका नेताहरूका अनुसार त्रिपाठीले आफ्नो जनता प्रगतिशील पार्टी औपचारिक रूपमा बन्द नगरेकाले उनलाई एकीकृत पार्टीको प्रक्रियामा समावेश गर्न समस्या भएको हो।

अध्यक्ष त्रिपाठीले भने आफ्नो पार्टी र तमलोपाको पहलमा नै लोसपासँग एकताको प्रक्रिया अघि बढेको दाबी गरेका छन्। उनले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनदेखि पार्टी एकतासम्ममा आफ्नो भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

तर जसपा र लोसपाबीच एकता प्रक्रिया अगाडि बढाउँदा आफूहरूलाई कुनै जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि जनाए। निर्वाचनको मुखमा अपारदर्शी ढंगले प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै उनले घोषणापत्र सार्वजनिक भएपछि आफूहरूले असहमति प्रकट गरेको बताए।

त्रिपाठीले जसपा नेपालको घोषणापत्रमा उल्लेख गरिएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाप्रति पनि आपत्ति जनाएका छन्। उनले यस्तो व्यवस्था कम्युनिष्ट विचारधाराबाट प्रभावित भएको टिप्पणी गर्दै अल्पसङ्ख्यक समुदायका लागि घातक हुन सक्ने दाबी गरे।

यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि उनले असहमति जनाएका छन्। “धेरै सैद्धान्तिक विषय अझै स्पष्ट छैनन्, यस्ता विषयमा सहमति नभई गरिएको एकता आत्मघाती हुन सक्छ,” उनले बताएका छन्।

यसअघि त्रिपाठी जसपा नेपालको घोषणापत्र लिएर चुनावमा सहभागी भएका थिए। गत पुस २७ गते गठन गरिएको एकीकृत जसपा नेपालको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा पनि उनको नाम समावेश गरिएको थियो। उनीसहित उनका समर्थक नेताहरू समितिको बैठकमा सहभागी समेत भएका थिए।

तर अहिले निर्वाचन आयोगले एउटै व्यक्ति दुई फरक पार्टीमा रहन नमिल्ने भन्दै जसपा नेपाललाई पत्र पठाएपछि विवाद चर्किएको हो। जसपा नेपालका एक नेताका अनुसार त्रिपाठीले जसपामा रहँदै आफ्नो पुरानो पार्टी पनि कायम राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।

ती नेताले आयोगको पत्रपछि त्रिपाठीलाई आफ्नो पार्टी बन्द गर्न आग्रह गरिएको तर उनले नमानेको बताए। “उहाँ सुरुदेखि नै पार्टी एकीकरण प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। जसपा नेपालका दस्ताबेजबारे पूर्ण जानकारी हुँदाहुँदै अहिले अनभिज्ञ भएको जस्तो गर्नु उचित होइन,” ती नेताको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय