काठमाडौं,०५ जेठ । रास्वपा सांसद कृष्णकुमार कार्की विरुद्ध एक विदेशी महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। घटनाबारे निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग संसददेखि विभिन्न युवासंस्थासम्म पुगेको छ।
स्थानीय साप्ताहिक पत्रिका जनआस्था ले सोमबार प्रकाशित गरेको समाचारमा सांसद कार्कीले नाइजेरियन नागरिक रिता अजुको सँग सम्बन्ध राखेर गर्भवती बनाएको र त्यसपछि सम्पर्कविहीन बनेको दाबी गरिएको थियो। समाचारसँगै सार्वजनिक भएका केही भिडिओ तथा च्याट स्क्रिनसटहरूले दुवैबीच निकट सम्बन्ध रहेको संकेत गरेका छन्।
प्रकाशित सामग्रीअनुसार अजुकोको गर्भ परीक्षण कागजातमा “श्रीमान्” को रूपमा कृष्ण कार्कीको नाम उल्लेख गरिएको दाबी गरिएको छ। प्रारम्भमा गर्भपतन गर्न चाहेको अवस्थामा कार्कीले त्यसलाई रोकेको, तर पछि सम्पर्क तोडेको आरोपसमेत लगाइएको छ।
यद्यपि, आरोपबारे सांसद कार्कीले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उनी लगातार दुई दिनदेखि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेका छन्। सोमबारको बैठकमा बोल्नका लागि नाम टिपाए पनि उपस्थित नभएको उल्लेख गरिएको छ। सभामुख डोलप्रसाद अर्याल ले उनको नाम तीन पटक बोलाउँदा पनि उनी बैठकमा उपस्थित भएनन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पार्वती विक ले विषय उठाउँदै सांसद कार्कीमाथि छानबिन गर्न र दोषी ठहरिए कारबाही गर्न सरकारसँग माग गरिन्।
यसैबीच जेनजी मुभमेन्ट नेपाल ले पनि विज्ञप्ति जारी गर्दै कार्कीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ। संगठनका प्रवक्ता विजय शाह द्वारा जारी विज्ञप्तिमा सांसद कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप गम्भीर रहेको भन्दै निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउन आग्रह गरिएको छ।
घटनाले अहिले राजनीतिक वृत्तमा नैतिकता, जनप्रतिनिधिको जिम्मेवारी र कानुनी जवाफदेहितामाथि नयाँ बहस सुरु गराएको छ।




