काठमाडौँ,०५ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालय ले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको व्यवहार, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन कर्मचारीको कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउन आवश्यक देखिएकाले नयाँ आचारसंहिता लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले सेवाग्राहीसँग शिष्ट, सभ्य र सम्मानजनक व्यवहार गर्नुपर्नेछ। साथै घुस, उपहार, सुविधा वा कुनै पनि प्रकारको अनुचित लाभ लिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। आचारसंहिताले पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई समेत निषेध गरेको छ।
कार्यालय अनुशासनलाई पनि विशेष प्राथमिकता दिइएको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोसाक लगाउन तथा सहकर्मीसँग सहयोगात्मक र व्यावसायिक व्यवहार कायम गर्न निर्देशन दिइएको छ।
त्यसैगरी सरकारी निर्णय, गोप्य कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको मन्त्रालयले जनाएको छ।




