spot_img

मापदण्ड नपुगेका अस्पतालमाथि कडा कारबाही गर्न सांसद प्रभा ढकालको माग

spot_img
spot_img

काठमाडौँ,०५ जेठ । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले देशको स्वास्थ्य क्षेत्रमा बेथिति बढ्दै गएको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताइन्।

सांसद ढकालले स्वास्थ्य सेवा क्रमशः कमजोर बन्दै गएको र बिरामी तथा उनीहरूका परिवार निरन्तर गुनासो गर्न बाध्य भएको उल्लेख गरिन्। संविधानले नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।

उनले मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाले नागरिकको स्वास्थ्यमा जोखिम बढाएको बताउँदै यस्ता संस्थामाथि तत्काल अनुगमन र कारबाही गर्न सरकारलाई आग्रह गरिन्।

साथै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सम्मानको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार स्वास्थ्यकर्मीलाई उचित तलब, सुविधा र सम्मान नदिइँदा स्वास्थ्य सेवा प्रणाली नै प्रभावित भइरहेको छ।

सांसद ढकालले भनिन्, “स्वास्थ्य सेवा खस्किँदै गएको छ। संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा लागू हुन सकेको छैन। मापदण्ड नपुगेका अस्पतालमाथि कडा कारबाही होस् र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक सुनिश्चित गरियोस्।”

उनले सरकारले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रभावकारी नीति तथा कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै सरकारी उदासीनताका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको टिप्पणी गरिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय