काठमाडौं,०५ जेठ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामाथि छलफल भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद डा. अमरेशकुमार सिंहले कडा असन्तुष्टि जनाएका छन्।
संसद्मा बोल्दै सिंहले आफूले २० वर्षको संसदीय यात्रामा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमै बजेटसम्बन्धी छलफल भइरहेको देखेको बताए। उनले यसलाई संसदीय परम्परा र प्रणालीमाथिको बेवास्ता भएको टिप्पणी गरे।
छलफलका क्रममा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। त्यसप्रति कटाक्ष गर्दै सिंहले बजेटसम्बन्धी बहसमा अर्थमन्त्री नै जिम्मेवार भएर उपस्थित हुनुपर्ने धारणा राखे।
उनले “नयाँ अभ्यास” को नाममा सबै परम्परा भत्काउन नहुने चेतावनी दिए। संसद्को गरिमा, उत्तरदायित्व र संसदीय प्रणालीको मर्म जोगाउन मन्त्रीहरूको उपस्थितिलाई अनिवार्य मान्नुपर्ने उनको भनाइ थियो।
सिंहले सांसदहरू जनताका प्रश्न बोकेर संसद्मा आउने भएकाले सरकार पनि जवाफदेही हुनुपर्ने बताए। उनले अर्थमन्त्री व्यस्त भए पनि बजेट प्राथमिकतामाथिको छलफलमा सहभागी भएर सांसदहरूको जिज्ञासाको सामना गर्नुपर्ने उल्लेख गरे।
उनको भनाइमा, बजेट तयार गर्ने काम टोलीले गरे पनि त्यसको नीति निर्देशन र राजनीतिक जिम्मेवारी अर्थमन्त्रीकै हुने भएकाले संसद्प्रति जवाफदेहिता पनि उनैले लिनुपर्छ।




