काठमाडौं,०६ जेठ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा विगत तीन सातादेखि देखिएको अवरोध अन्ततः हटेको छ। भारतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी व्यवस्था फिर्ता लिएपछि नेपाली चिया पुनः सहज रूपमा निर्यात हुने भएको हो।
भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको टी बोर्डले मंगलबार राति संशोधित सूचना जारी गर्दै यसअघि लागू गरिएको कडा प्रावधानमा लचकता अपनाएको हो। नयाँ निर्णयसँगै बुधबारदेखि नेपालबाट भारततर्फ रोकिएको चिया निकासी पुनः सुचारु भएको व्यवसायीहरूले बताएका छन्।
संशोधित व्यवस्थाअनुसार अब भारतको आन्तरिक बजारमा खपत हुने चियाका लागि अनिवार्य परीक्षण गर्नुपर्ने छैन। भन्सार कार्यालय वा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले आवश्यक ठानेमा मात्र जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के नमुना परीक्षण गर्न सक्नेछन्।
यससँगै नेपालबाट भारत जाने प्रत्येक चिया बोकेको ट्रक नाकामै रोकेर परीक्षण गर्नुपर्ने झन्झट हटेको छ। यसअघि लागू गरिएको व्यवस्थाअनुसार प्रत्येक ट्रकको नमुना परीक्षणका लागि ११ हजारभन्दा बढी भारतीय रुपैयाँ शुल्क तिर्नुपर्ने र रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने बाध्यता थियो। त्यसकै कारण नेपाली चिया निर्यात लगभग ठप्प बनेको थियो।
यद्यपि, भारतमा आयात गरी पुनः आकर्षक प्याकेजिङ र ब्रान्डिङसहित तेस्रो मुलुकमा निर्यात गरिने चियाका लागि भने कडा नियम यथावत् राखिएको छ। त्यस्ता चियाको गुणस्तर सुनिश्चित गर्न टी बोर्डले अनिवार्य परीक्षण जारी राख्ने जनाएको छ।
भारतले परीक्षण प्रक्रिया पनि छोट्याएको छ। अब प्रयोगशालाले नमुना प्राप्त गरेको पाँच दिनभित्रै परीक्षण प्रतिवेदन अनलाइन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने गरेको थियो।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले लागू गरेको अनिवार्य परीक्षण प्रणाली हालका लागि पूर्ण रूपमा हटाएकाले निर्यात सहज बनेको बताए। यद्यपि भविष्यमा भारतले नयाँ कार्यविधि ल्याउन सक्ने सम्भावना भने रहेको उनको भनाइ छ।
नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले पनि भारतको पछिल्लो निर्णयले किसान, उद्योगी र व्यवसायीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
भन्सार विभागका अनुसार चिया नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक हो। गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारतमा ३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको चिया निर्यात भएको थियो। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया भारत पठाइसकिएको छ।
व्यवसायीहरूले अब चिया निर्यात पुनः सामान्य अवस्थामा फर्किने र आगामी दिनमा व्यापारमा अवरोध नआउने आशा व्यक्त गरेका छन्।




