spot_img

पत्रकारलाई धम्की दिएको आरोपमा सर्लाहीका चिकित्सक पक्राउ

spot_img
spot_img

जनकपुर,०७ जेठ । सर्लाहीमा एक पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति मलंगवा नगरपालिका–१० मा सञ्चालित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार प्रकाशनको विषयलाई लिएर पटक–पटक धम्की दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ का तीन महिनाका शिशु अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए। उक्त समाचार सार्वजनिक भएपछि डा. झाले समाचार हटाउन दबाब दिएको, फोन तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएको आरोप लगाइएको छ।

घटनापछि पत्रकार अलीले नेपाल पत्रकार महासंघमा जानकारी गराएका थिए। त्यसपछि महासंघको सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारमाथिको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। साथै दोषीमाथि कडा कारबाही गर्न माग गरिएको थियो।

महासंघले कुनै समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने भए पनि पत्रकारलाई धम्क्याउने र दबाब दिने कार्य प्रेस स्वतन्त्रताविरुद्ध हुने स्पष्ट पारेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय