बीरगन्ज,०७ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको स्पष्ट आधार र कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफ बुझाउन निर्देशन दिएको हो।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बिहीबार प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।
हाल जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा विस्तृत विवरण अदालतमा पेश गर्न भनिएको छ।
अदालतको आदेशमा “आधार र कारणसहित, बाटोको म्याद बाहेक सूचना प्राप्त भएको २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू” उल्लेख गरिएको छ।
यस आदेशसँगै प्रसाईं पक्राउ प्रकरण कानुनी र राजनीतिक दुवै रूपमा थप चर्चामा आएको छ।




