spot_img

कृषि उत्पादन घटेपछि मधेसको आर्थिक अवस्था कमजोर

spot_img
spot_img

बीरगन्ज,०७ जेठ । कृषि क्षेत्रमा देखिएको गम्भीर मन्दीका कारण मधेस प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा घट्ने अनुमान गरिएको छ। विशेषगरी धान उत्पादन, माछापालन र वन क्षेत्र कमजोर हुँदा प्रदेशको समग्र अर्थतन्त्र सुस्त बनेको देखिएको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतको तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकअनुसार मधेस प्रदेशले पछिल्ला तीन वर्षकै न्यून आर्थिक वृद्धिदर सामना गर्न सक्ने अवस्था देखिएको छ।

तथ्याङ्क अधिकृत नरबहादुर कुँवरका अनुसार पर्याप्त वर्षा नहुँदा उत्पन्न खडेरीले धान खेती र मत्स्य उत्पादनमा प्रत्यक्ष असर पुर्‍याएको छ। कृषि उत्पादनमा आएको गिरावटले प्रदेशको आर्थिक गतिविधिमा व्यापक प्रभाव पारेको उनले बताए।

पछिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा मधेस प्रदेशको आर्थिक वृद्धिदर निरन्तर ओरालो लागिरहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ३.१८ प्रतिशत रहेको वृद्धिदर २०८१/८२ मा घटेर २.७२ प्रतिशतमा सीमित भएको थियो। यस वर्ष त्योभन्दा पनि कमजोर रहने प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि, राष्ट्रिय अर्थतन्त्रमा मधेस प्रदेशको योगदान भने अझै उल्लेखनीय रहने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको हिस्सा १३.१ प्रतिशत रहने अनुमान गरिएको छ।

कार्यक्रममा बोल्दै मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिमा अत्यधिक निर्भर अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको स्वीकार गरे। उनले आगामी बजेटमार्फत कृषि सुधार, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोजिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय