जनकपुर,०९ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा मेयर मनोजकुमार साहले उपमेयरलाई जिम्मेवारी नदिई वडाध्यक्षलाई कार्यवाहक मेयर तोकेपछि विवाद चुलिएको छ।
मेयर साहले उपमेयर किशोरी साहलाई बेवास्ता गर्दै वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्। यो निर्णय सार्वजनिक भएसँगै स्थानीय तहको नेतृत्व व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मेयर सात दिनभन्दा बढी अनुपस्थित हुँदा उपमेयरलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने व्यवस्था छ। उपमेयर पनि अनुपस्थित भए मात्र अन्य कार्यपालिका सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी प्रावधान छ।
तर उपमेयर किशोरी साह जनकपुरधाममै सक्रिय रहँदा पनि उनलाई जिम्मेवारी नदिई वडाध्यक्षलाई कार्यवाहक बनाइएपछि निर्णय कानुनसम्मत हो वा होइन भन्ने बहस सुरु भएको छ।
राजनीतिक रूपमा पनि यो घटनाले चर्चा पाएको छ। मेयर मनोजकुमार साह स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भए पनि पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उपमेयर किशोरी साह कांग्रेसकै आधिकारिक उम्मेदवारका रूपमा निर्वाचित भएकी हुन्। कार्यवाहक बनेका वडाध्यक्ष परमेश्वर साह पनि कांग्रेसकै जनप्रतिनिधि हुन्।
उपमेयर किशोरी साहले आफूलाई कार्यवाहक जिम्मेवारी नदिइएको विषयमा आश्चर्य व्यक्त गरेकी छन्। उनले भनिन्, “म जनकपुरधाममै विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छु। मलाई किन जिम्मेवारी दिइएन भन्ने जानकारी छैन।”
उनले थपेकी छन् कि यस विषयमा विवाद गर्नुभन्दा पनि स्थिति बुझेर अघि बढ्ने पक्षमा आफू रहेको छ। मेयर साहको निर्णयपछि जनकपुरधाममा कानुनी र राजनीतिक दुवै कोणबाट छलफल र बहस तीव्र बनेको छ।




