काठमाडौँ,०९ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ। बैठक जेठ ११ गतेसम्म सञ्चालन हुने पार्टीले जनाएको छ। बैठकमा पार्टी संगठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने नेता शैलेन्द्र शाहले जानकारी दिए।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएपछि यो पहिलो केन्द्रीय समिति बैठक भएको हो। बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा मुख्य एजेन्डाका रूपमा राखिएको छ।
त्यस्तै पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन, संगठन संरचनाको समायोजन तथा विभिन्न तहका समितिहरू पुनःगठन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। केन्द्रीय, प्रदेश, जिल्ला, पालिका, वडा तथा टोल समिति र भ्रातृ तथा शुभेच्छुक संगठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण र अद्यावधिक गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।
बैठकमा केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र संघीय दलबीच समन्वय तथा परामर्श समिति गठन, सदस्यता नवीकरण र अद्यावधिकजस्ता विषयमा पनि निर्णय हुने बताइएको छ।
यसैगरी स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय, संगठन विस्तारका कार्यक्रम, जिल्ला तथा क्षेत्रीय स्तरका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। पार्टीले यो बैठकलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।




