काठमाडौँ,१० जेठ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा झरेको महासंघले जनाएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ।



