spot_img

बीरगन्ज नाकाबाट आयातमा १५ प्रतिशत वृद्धि, १० महिनामै भित्रियो झण्डै ८ खर्बको सामान

spot_img
spot_img

बीरगन्ज,१० जेठ । नेपालको प्रमुख व्यापारिक नाका बीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा आयात व्यापार उल्लेख्य रूपमा बढेको छ। भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ७ खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री नेपाल भित्रिएका छन्।

यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा ६ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात भएको थियो। यस वर्ष आयात रकममा करिब १ खर्ब २ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार पेट्रोलियम पदार्थ तथा फलामजन्य कच्चा सामग्रीको आयात बढेका कारण समग्र आयातमा वृद्धि भएको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ। १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न इन्धनजन्य पदार्थ नेपाल भित्रिएका छन्। यसले नेपालको इन्धन आयातमा रहेको उच्च निर्भरतालाई पुनः देखाएको छ।

त्यसपछि फलाम तथा फलामजन्य सामग्री दोस्रो ठूलो आयातित वस्तु बनेका छन्। यस अवधिमा ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरका फलाम तथा त्यसबाट बनेका सामग्री आयात भएका छन्।

यस्तै, उद्योग तथा निर्माण क्षेत्रमा प्रयोग हुने ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरका मेसिनरी र पार्टपुर्जा पनि वीरगञ्ज नाका हुँदै आयात भएका छन्। स्वदेशी उद्योगका लागि आवश्यक पर्ने ५५ अर्ब ७ करोड रुपैयाँ बराबरको कच्चा भटमास तेल (क्रुड सोयाबिन ओइल) समेत यही नाकाबाट भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

विशेषज्ञहरूका अनुसार औद्योगिक कच्चा पदार्थ र इन्धनको आयात बढ्नुले आन्तरिक बजार तथा उत्पादनमूलक क्षेत्र क्रमशः सक्रिय हुन थालेको संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय