spot_img

हरि खेतान क्याम्पस निजीकरणतर्फ धकेल्ने प्रयास भएको आरोप, समुदायमै जोगाउन नागरिक समाजको माग

spot_img
spot_img

बीरगन्ज,१० जेठ ।  हरि खेतान बहुमुखी क्याम्पस लाई योजनाबद्ध रूपमा बदनाम गर्दै निजीकरणतर्फ धकेल्ने प्रयास भइरहेको आरोप क्याम्पस प्रमुख किशोरी राय यादवले लगाएका छन्। उनले केही निजी कलेज सञ्चालकहरूको प्रभावमा क्याम्पसविरुद्ध भ्रम फैलाउने काम भइरहेको दाबी गरेका छन्।

शनिबार जिल्ला समन्वय समिति पर्सामा नागरिक समाजको अगुवाइमा आयोजित छलफल कार्यक्रममा बोल्दै यादवले हरि खेतान क्याम्पस समुदायको सम्पत्ति भएकाले यसलाई कुनै पनि हालतमा निजीकरण हुन नदिने स्पष्ट पारे। विद्यार्थी भर्नाको समय नजिकिँदै गर्दा क्याम्पसको छवि बिगार्ने उद्देश्यले विभिन्न विवाद सिर्जना गरिएको उनको आरोप थियो।

बैठकमा पूर्व सांसद विचारी यादव, पूर्व क्याम्पस प्रमुख डा. भगवान यादव, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव तथा नेकपा एमालेका नेता सुन्दर कुर्मी लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए।

सहभागीहरूले क्याम्पसको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई समुदायमै आधारित शैक्षिक संस्थाका रूपमा जोगाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख यादवले पूर्व प्रमुख डा. भगवान यादवमाथि पनि गम्भीर आरोप लगाए। उनले लामो समयसम्म क्याम्पस सीमित समूहको नियन्त्रणमा राखिएको तथा आफन्त र नातागोताका व्यक्तिलाई भर्ती गर्ने थलो बनाइएको दाबी गरे।

उनका अनुसार २०८० असोज १९ गते विधान संशोधन गरी क्याम्पस हाल सोही व्यवस्थाअनुसार सञ्चालन भइरहेको छ। उनले सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा सार्वजनिक मञ्चमा हुने कुनै पनि बहसका लागि आफू तयार रहेको पनि बताए। “यो गरिब तथा जेहेन्दार विद्यार्थीको क्याम्पस हो, यसलाई शिक्षा माफियाको नियन्त्रणमा जान दिनु हुँदैन,” भन्दै यादवले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दा विरोध गर्ने समूह नै अहिले क्याम्पसविरुद्ध सक्रिय भएको आरोप लगाए।

क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश खेतान ले पनि क्याम्पसको शैक्षिक वातावरण जोगाउन वीरगञ्जवासीको साझा भूमिका आवश्यक रहेको बताए। उनले विगतमा भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्तिहरूप्रति नागरिक समाज सचेत रहनुपर्ने धारणा व्यक्त गरे।

यसैबीच, गत वैशाख ३१ गते क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो दलेको आरोपमा दिलीप पण्डित र देवलाल ठाकुर प्रहरी हिरासतमा रहेका छन्। घटनामा संलग्न भनिएका अन्य आरोपीहरू भने अझै पक्राउ परेका छैनन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय