बीरगन्ज,१० जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १५ गतेभित्र सार्वजनिक गर्ने लक्ष्यसहित कार्ययोजना लागू गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार परीक्षा नियन्त्रण कार्यालयले आवश्यक तयारी पूरा गरी प्रक्रिया अघि बढाएको हो।
बोर्डले तोकिएको समयमै नतिजा सार्वजनिक गर्ने दाबी गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ‘मार्किङ स्किम’ को काम सुरु भइसकेको छ। प्रत्येक विषयमा पाँच जना विज्ञ सहभागी गराएर कार्यशाला सञ्चालन भइरहेको उनले जानकारी दिए । उनका अनुसार परीक्षा सम्पन्न भएलगत्तै प्रश्नपत्र सङ्कलन गरी प्रदेश कार्यालयमा पठाइसकिएको छ भने उत्तरपुस्तिका सङ्कलन र विषयगत प्याकिङको काम पनि नियमित रूपमा भइरहेको छ।



