काठमाडौँ,१० जेठ । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको जनाएको छ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट भइसकेको छ।
यसैगरी ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
अब दोस्रो चरणमा कम्पनीले ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्ने भएको हो। लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ। तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन्।



