बीरगन्ज,१० जेठ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो ।
जसपा नेपाल चुनावमा हार्नुको कारण बारे समीक्षा गरिरहेका छन् । आज पनि त्यसमा छलफल हुने बताइएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय भेला गर्ने र त्यहाँ पनि समीक्षा गर्ने बताइएको छ ।
मधेस प्रदेश सरकारको बारेमा पनि समीक्षा हुने बताइएको छ । जसपा नेपालले वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको थियो तर मुख्यमन्त्री कृष्ण यादवले सरकारबाट सो पार्टीलाई जवर्जस्ती हटाइएको छ । त्यस्तो कसरी भयो त्यसको बारेमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।
त्यसका साथै बैठकमा पार्टी समायोजनदेखि त्यसको व्यवस्थापनलगायत आगामी राजनीतिक कार्यक्रमबारे छलफल हुने जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले बताए ।
यो बैठकमा पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण यो बैठकले गर्नेछ ।
बैठकमा केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वय तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।
त्यसैगरी जिल्ला, पालिका तथा संघीय निर्वाचन क्षेत्रस्तरीय पार्टी अभिमुखीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ ।



