spot_img

एमालेभित्र बढ्दै केपी शर्मा ओलीमाथि पार्टी अध्यक्ष पद छाड्नुपर्ने दबाब

spot_img
spot_img

बीरगन्ज,१० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली माथि पद छाड्नुपर्ने दबाब बढ्दै गएको संकेत केन्द्रीय सचिवालय बैठकबाट देखिएको छ।

शनिबारसम्म चलेको बैठकमा अधिकांश पदाधिकारीहरूले वर्तमान नेतृत्वकै शैलीमा पार्टी अघि बढ्न नसक्ने धारणा राख्दै पुनर्गठनको आवश्यकता औँल्याएका छन्। महासचिव शङ्कर पोखरेल ले समेत स्पष्ट रूपमा निराशा बढिरहेको र त्यसलाई रूपान्तरण गर्न संरचनागत परिवर्तन जरुरी रहेको बताएका छन्।

यसअघि उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्तगोकर्ण विष्ट लगायतले चुनावी परिणामको जिम्मेवारी लिँदै ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए। विशेषगरी गुरुङले बैठकमै कडा प्रतिक्रिया जनाउँदै पार्टी सञ्चालन शैलीप्रति प्रश्न उठाएका थिए।

बैठकमा ओलीले भने आलोचनाको प्रतिवाद गर्दै आफू पद नछाड्ने अडान दोहोर्‍याएका छन्। “सहमति भए पनि नभए पनि म छाड्दिनँ,” भन्ने उनको भनाइले आन्तरिक विवाद थप चर्किने संकेत गरेको छ।

यद्यपि सबै नेताहरू ओलीविरुद्ध उभिएका छैनन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत ले भने नेतृत्वको बचाउ गरेका छन्। बस्नेतले संकटका बेला नेतृत्व परिवर्तनको माग गर्नु अनुचित भएको बताएका छन्।

यस्तै, उपमहासचिव लेखराज भट्ट ले ६० वर्षभन्दा माथिका नेताहरूले जिम्मेवारी छाडेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। अर्का उपमहासचिव योगेश भट्टराई ले ओलीकै कार्यकालमा पार्टी कमजोर बनेको उल्लेख गर्दै बिना सर्त मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उपमहासचिव रघुवीर महासेठ ले पनि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

बैठक आइतबार बिहान पुनः बस्दैछ, जहाँ अध्यक्ष ओलीले समापन सम्बोधन गर्ने र त्यसपछि कार्यविभाजनलगायतका निर्णय हुने बताइएको छ।

एमालेभित्रको यो बहसलाई नेतृत्व परिवर्तन, आत्मसमीक्षा र पार्टी पुनर्गठनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय