spot_img

बागमतीमा डुबेर दुई युवक बेपत्ता

spot_img
spot_img

सर्लाही,१० जेठ । सर्लाही, रौतहट, सिन्धुली र मकवानपुर गरी चार जिल्लाको सीमा क्षेत्रस्थित बागमती नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् ।

शनिबार अपरान्ह ४ बजेदेखि सर्लाहीको लालबन्दी नगरपालिका ५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो बागमती नदीमा डुबेर बेपत्ता भएका हुन् । नदीमा डुबेर बेपत्ता युवकहरुको आइतबार बिहानसम्म अवस्था अज्ञात रहेको छ ।

दुई युवक मकवानपुरतर्फ पर्ने पुल क्षेत्रबाट सिन्धुलीतर्फको बाटो हुँदै सर्लाही आएर बागमती तर्नेक्रममा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन जना युवक बागमतीमा पौडी खेलेर रौतहटको नुनथरतर्फ निस्कन सफल भए पनि रोहित र गणेश भने बेपत्ता भएका हुन् ।

यस क्षेत्रमा नुहाउन तथा पौडी खेल्न जानेक्रममा पटक पटक मानिसको मृत्यु हुने गरेको छ । बारम्बार दुर्घटना हुने छाडेको छैन् । बेपत्ता युवकको परिवारले उनीहरुको खोजीमा स्थानीय प्रशासनबिच प्रभावकारी समन्वय नभएको गुनासो गरेका छन् ।

दुई युवक बेपत्ता भएदेखि नै बागमती पुगेका लालबन्दीका स्थानीय प्रशान्त आचार्यले युवकहरुको तत्काल खोजी गर्नुपर्नेमा एक जिल्लाले अर्को जिल्लालाई देखाउने काम मात्र भइरहेको गुनासो गर्नुभएको छ ।

शनिबार साँझपख सर्लाही र रौतहटतर्फका प्रहरीले खोजी गरे पनि आइतबार बिहान ९ बजेसम्म गोताखोरसहितको प्रहरी परिचालन हुन नसकेको उहाँले बताउनुभयो । रौतहटको प्रहरी चौकी पौराहीमा रहेका आचार्यले बिहानैदेखि गोताखोर परिचालन हुने भनिए पनि अहिलेसम्म अत्तोपत्तो नरहेको गुनासो गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माले प्रहरी चौकी पौराही र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली बेपत्ता युवकहरुको खोजी लागिरहेको बताउनुभएको छ । उहाँले घटनास्थल मकवानपुरतर्फ पर्ने बताउनुभयो ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले इलाका प्रहरी कार्यालय बागमतीसहितको प्रहरी युनिटले बेपत्ता युवकहरुको खोजी गरिरहेको जानकारी दिनुभयो ।

स्थानीय प्रशासनबिच समन्वय नहुँदा बेपत्ता युवकको खोजीका लागि एकले अर्को जिल्लालाई देखाउने काम भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय