बीरगन्ज,१० जेठ । भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय जाली नोट कारोबारमा संलग्न मुख्य सरगना पक्राउ परेका छन्। बिहार एसटीएफ, आर्मी इंटेलिजेन्स र हरैया थाना प्रहरीको संयुक्त टोलीले दया तिवारी उर्फ सुशील तिवारीलाई पक्राउ गरेको हो।
बिहार प्रहरी मुख्यालयअन्तर्गत विशेष कार्य बल (एसटीएफ) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लखनऊस्थित मिलिट्री इंटेलिजेन्सबाट प्राप्त गोप्य सूचनाका आधारमा मेजरगंज थाना क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरिएको थियो। सोही क्रममा सीतामढी जिल्लाको शिवहर थाना क्षेत्रस्थित खैरवा गाउँ निवासी दया तिवारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रहरीका अनुसार उनी लामो समयदेखि भारत–नेपाल सीमावर्ती क्षेत्रमा जाली नेपाली तथा भारतीय नोटको छपाइ, आपूर्ति र कारोबारमा संलग्न थिए। अनुसन्धान एजेन्सीले उनको सञ्जाल नेपाल, भारत हुँदै बंगलादेशसम्म फैलिएको दाबी गरेको छ।
यसअघि गत जनवरी ३१ मा हरैया थाना प्रहरीले जाली मुद्रा कारोबारविरुद्ध ठूलो कारबाही गर्दै एक नेपाली नागरिकसहित आठ जनालाई पक्राउ गरेको थियो। उक्त अपरेशनका क्रममा करिब २५ लाख रुपैयाँ बराबरको नेपाली जाली नोट, १८ हजार ५०० भारतीय जाली मुद्रा, मोबाइल फोन, पासपोर्ट, मोटरसाइकल, कार तथा नोट छाप्न प्रयोग हुने उपकरण र रसायन बरामद गरिएको थियो। त्यस घटनापछि दया तिवारी फरार रहेका थिए र प्रहरीले उनलाई मुख्य योजनाकारका रूपमा खोजी गरिरहेको थियो।
प्रेस विज्ञप्तिअनुसार आरोपीविरुद्ध हरैया थाना काण्ड नम्बर २३/२६ अन्तर्गत विभिन्न आपराधिक धारामा मुद्दा दर्ता गरिएको छ। पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले जाली मुद्रा नेटवर्कसँग सम्बन्धित महत्वपूर्ण जानकारी दिएको बताइएको छ। उनका बयानका आधारमा गिरोहका अन्य सदस्य तथा नेटवर्कका थप कडिहरूमाथि अनुसन्धान तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्।
एसटीएफका अनुसार पक्राउका बेला तिवारीको साथबाट ४ हजार ५० रुपैयाँ नगद र एक मोबाइल फोन समेत बरामद गरिएको छ। हाल उनीमाथि थप अनुसन्धान तथा गहन सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।



