spot_img

फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर

spot_img
spot_img

काठमाडौँ,१० जेठ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठुलो आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन् ।

महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल मात्र नभएर लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उल्लेख गर्दै पार्टीभित्र बृहत् एकताका साथ १५ औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे। कांग्रेस केवल चुनाव जित्ने सङ्गठन मात्र नभई लोकतन्त्र बचाउन हजारौँ मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत भएको उनले बताए ।

यस्तो ऐतिहासिक पार्टी कमजोर हुँदा लोकतान्त्रिक मूल्य मान्यता नै कमजोर हुने भएकाले आजको दिनमा कसलाई हराउने भन्नेतर्फ नलागी कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

नेता महरले कांग्रेसभित्र देखिने मतभेदलाई स्वाभाविक प्रक्रियाका रूपमा चित्रण गरे। ‘जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ, जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ, तर विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन’ भन्दै उनले विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता नै कांग्रेसको असली सुन्दरता भएको विचार व्यक्त गरे ।

आफ्नो मन्तव्यका क्रममा महाभारतको प्रसङ्ग उल्लेख गर्दै उनले एकताको शक्ति इतिहासले प्रमाणित गरिसकेको बताए। उनले भने, ‘महाभारतमा पाण्डवहरू संख्यामा कम थिए, शक्ति कम थियो, तर उनीहरूबिच विश्वास, एकता र साझा लक्ष्य थियो, कौरवहरूसँग विशाल सेना र शक्ति भए पनि उनीहरू विभाजित थिए ।’ उनले अन्ततः विजय संख्याले नभई एकताले दिलाउँछ भन्ने कुरा इतिहासले देखाएको स्मरण गराए ।

महरले कांग्रेसको गौरवमय इतिहास सम्झाउँदै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधैँ राष्ट्र र लोकतन्त्रलाई केन्द्रमा राखेको उल्लेख गरे। हाम्रा अग्रजहरूले सत्तालाई भन्दा सिद्धान्तलाई ठुलो ठानेको चर्चा गर्दै उनले जेल, यातना र सङ्घर्ष सहेर बनाएको पार्टीलाई आज व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण कमजोर बनाइयो भने इतिहासले कसैलाई माफ नगर्ने चेतावनी दिए।

देश अहिले जटिल मोडमा रहेको उल्लेख गर्दै उनले युवा पलायन, देश विकासमा महिलाको सहभागिता बढाउने सवाल, बेरोजगारी, शिक्षा, स्वास्थ्य र महँगीको मार जस्ता समस्याले जनतामा निराशा बढाएको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय