spot_img

पर्सामा बढ्दो लागूऔषध तस्करी, एक महिनामै ३१ जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,१२ जेठ । भारतसँगको खुला सीमाका कारण पर्सामा लागूऔषध तस्करी र सेवनका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनामा मात्रै लागूऔषध कारोबारमा संलग्न ३१ जनालाई पक्राउ गरिएको छ।

प्रहरीले उक्त अवधिमा ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको जनाएको छ।

पछिल्लो घटनामा गत शनिबार राति बीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा–७ का १९ वर्षीय नन्दन गुप्तालाई खैरो हेरोइनसहित पक्राउ गरिएको थियो। भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि वैशाख २५ गते बीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट खैरो तथा सेतो हेरोइन बरामद गरिएको थियो।

प्रहरीले त्यसको भोलिपल्ट पनि छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन र प्रतिबन्धित ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। पछिल्लो समय प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका तस्कर पक्राउ पर्न थालेका छन्।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार लागूऔषधको कुलतमा फसेकाहरू भारत पुगेर सेवन गर्ने तथा लुकाइछिपाइ नेपाल ल्याउने प्रवृत्ति बढेको छ। उनले खुला सीमा र वैज्ञानिक परीक्षण प्रणालीको अभावका कारण नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको बताए।

प्रहरीका अनुसार पछिल्लो समय लागूऔषधसहित पक्राउ पर्नेमा महिलाको संख्या पनि बढ्दै गएको छ। वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीमध्ये झन्डै आधाजसो लागूऔषध मुद्दासँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ।

सामाजिक अभियन्ता प्रकाश थारुले सीमावर्ती क्षेत्रमा लागूऔषध समस्या गम्भीर सामाजिक चुनौतीका रूपमा देखिन थालेको बताए। उनका अनुसार युवापुस्तामा बढ्दो लागूऔषध प्रयोगले समाज र स्वास्थ्य दुवै क्षेत्रमा नकारात्मक असर पारिरहेको छ।

 

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय