spot_img

नारायणी अस्पताल प्रदेशलाई दिने निर्णय नभएको सांसद कानुको दाबी

spot_img
spot_img

बीरगन्ज,१४ जेठ । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानुले नारायणी अस्पताललाई मधेस प्रदेश सरकारअन्तर्गत ल्याउने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । अस्पताल संघीय सरकारकै मातहतमा सञ्चालन भइरहने सम्बन्धित निकायले जानकारी दिएको भन्दै उनले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद कानुले अस्पताल हस्तान्तरणबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका समाचार र हल्लाहरू तथ्यहीन रहेको बताएका छन् । उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा अपुष्ट सूचना फैलाउँदा जनमानसमा अनावश्यक अन्योल सिर्जना हुने उल्लेख गरेका छन् ।

“नारायणी अस्पताल संघीय सरकारकै मातहतमा सञ्चालन हुने व्यवस्था यथावत् रहेको छ,” उनले लेखेका छन्, “यस विषयमा फैलाइएका भ्रमपूर्ण सूचनामा विश्वास नगर्न अनुरोध गर्दछु ।”

सांसद कानुले आधिकारिक निकायबाट सार्वजनिक गरिने सूचनालाई मात्रै विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा फैलिने अफवाहप्रति सजग रहन जिल्लावासीलाई अपिल गरेका छन् । उनले स्वास्थ्य सेवा र सार्वजनिक संस्थासँग जोडिएका विषयमा जिम्मेवार ढंगले सूचना प्रवाह हुनुपर्नेमा समेत जोड दिएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय