बीरगन्ज,१५ जेठ । मानवसेवा आश्रम बीरगन्ज शाखाले आफ्नो स्थापना दिवसको अवसरमा आज ९औँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नामका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै वीरगञ्ज शाखाको औपचारिक शुभारम्भ गरिएको थियो।
मानवीय सेवाको यात्राको सुरुआतमा मानवसेवा आश्रम बीरगन्जका संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लालबहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको विशेष भूमिका रहेको थियो।
आश्रम २०७४ देखि २०७९ सालसम्म बीरगन्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो। हाल भने बीरगन्ज–२५ श्रीसियामा रहेको भवनबाट सेवा सञ्चालन भइरहेको छ। उक्त भवन प्रदेश सांसद रमेश पटेलको विशेष पहलमा वृद्धाश्रमका लागि निर्माण गरिएको संरचनामा व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको हो।
यसैबीच, बीरगन्ज महानगरपालिकाले बीरगन्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत सुरु भइसकेको आश्रमले जनाएको छ।
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक सामाजिक संस्था हो। २०६९ सालदेखि मानव सेवामा सक्रिय आश्रम २०७३ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको थियो। संस्थाले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ।
हाल आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने लक्ष्यसहित देशका सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ।
बीरगन्ज शाखाको तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ भने ३३ जनालाई सामुदायिक पुनर्स्थापना गरिएको छ। साथै ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको र ४१ जनाले आश्रममै अन्तिम श्वास लिएको जनाइएको छ। हाल श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
मानवसेवा आश्रम बीरगन्जका संस्थापक देवेश गुप्ताले आश्रम सम्पूर्ण पर्सा–बारावासीको साथ, माया र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मानवसेवा आश्रम वीरगञ्ज कुनै एक व्यक्ति वा संस्थाको बलमा होइन, सम्पूर्ण पर्सा–बारावासीको पसिनाको कमाइ र विश्वासले चलेको आश्रम हो।”
उहाँका अनुसार दैनिक ज्यालादारी गर्ने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी तथा गृहिणीसम्म सबै वर्गका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्।
आश्रम परिवारले विगत ९ वर्षदेखि निरन्तर सहयोग, प्रेरणा र साथ दिने सम्पूर्ण वीरगञ्जवासी, शुभेच्छुक तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो । जय मानवसेवा ।”




