काठमाडौं,१५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणका लागि महत्वपूर्ण प्रेरणा र जिम्मेवारी दिएको बताएका छन्।
१९औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र केवल शासन व्यवस्था मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गरे।
उनले गणतन्त्रले विविधता बीच एकता कायम गर्दै साझा राष्ट्र निर्माणको मार्ग प्रशस्त गरेको बताए। “गणतन्त्रले हामीलाई अधिकार मात्र होइन, समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर पनि दिएको छ,” उनले भने।
राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा जोगाउँदै यसलाई अझ सुदृढ बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सामाजिक न्याय, विकास र समृद्धिलाई केन्द्रमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी अभ्यास गर्नुपर्ने बताए।
उनले मुलुकको विकासमा ढिलासुस्ती, अनियमितता र बेथिति नै मुख्य बाधक रहेको उल्लेख गर्दै सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने बताए।
राष्ट्रपतिले राजनीतिक उपलब्धिलाई जनताको जीवनसँग जोड्न शासकीय चरित्र र कार्यशैलीमा परिवर्तन अनिवार्य भएको स्पष्ट पार्दै सबै पक्षलाई जिम्मेवार र जवाफदेही बन्न आह्वान गरे।
उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै नागरिकको जीवनस्तर उकास्नु नै गणतन्त्रको मूल लक्ष्य भएको बताए।




