काठमाडौं,१५ जेठ । सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति अघि सारेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी विनिमय सञ्चिति सहज अवस्थामा पुगेपछि त्यसको निश्चित हिस्सा रणनीतिक रूपमा लगानी तथा स्रोत परिचालनमा उपयोग गरिने जानकारी दिएका हुन्।
उनका अनुसार ‘सोभरिन वेल्थ फन्ड’ मार्फत दीर्घकालीन आर्थिक प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने सरकारको योजना रहेको छ। हाल नेपालको कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर रहेको सरकारले जनाएको छ।
सरकारले विदेशी मुद्रा सञ्चितिलाई केवल सुरक्षित राख्ने मात्र नभई उत्पादनमूलक तथा उच्च प्रतिफलयुक्त क्षेत्रमा परिचालन गरेर अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ।
अर्थमन्त्री वाग्लेले आर्थिक स्थायित्व कायम राख्दै लगानी, पूर्वाधार विकास तथा रणनीतिक परियोजनामा स्रोत जुटाउन नयाँ वित्तीय उपकरण र व्यवस्थापन प्रणाली अपनाइने बताए।




