काठमाडौं,१५ जेठ । सरकारले डिजिटल वित्तीय प्रणालीलाई विस्तार तथा व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ, ऋण, बीमा तथा अन्य वित्तीय सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले फिनटेक मार्केटप्लेस स्थापना गर्न लागिएको जानकारी दिएका हुन्।
सरकारका अनुसार उक्त प्रणालीमार्फत नागरिकहरूले मोबाइल एप वा इन्टरनेटको माध्यमबाट विभिन्न वित्तीय सेवा सहज रूपमा एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। यसले डिजिटल वित्तीय पहुँच विस्तार गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी सरकारले सूचना प्रविधि सेवा क्षेत्रको विस्तारका लागि विदेशमा लगानी खुला गर्ने नीति पनि लिएको छ। अर्थमन्त्री वाग्लेले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा ‘रिमोट वर्क’ लाई कानुनी रूपमा व्यवस्थित गरिने बताएका छन्।
उनका अनुसार सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रियालाई एकीकृत गरिनेछ। यसका लागि एउटै निकायमार्फत सफ्टवेयर खरिद गर्ने व्यवस्था लागू गरिने सरकारको योजना छ।
सरकारले नागरिक एपमा थप दर्जनौँ सरकारी सेवा आबद्ध गर्दै डिजिटल सार्वजनिक सेवा प्रणालीलाई विस्तार गर्ने घोषणा पनि गरेको छ। डिजिटल पूर्वाधारमा लगानी बढाएर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सरकारको रहेको अर्थमन्त्री वाग्लेले बताए।




