काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकासलाई तीव्रता दिँदै १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २०० वटा सडक पुल निर्माण गर्ने घोषणा गरेको छ।
आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशभर सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताएका छन्।
उनका अनुसार पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिनेछ। सोही राजमार्गअन्तर्गत नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण यसै वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, आगामी दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने योजना पनि सरकारले अघि सारेको छ। यसका लागि पूर्व–पश्चिम राजमार्गमा मात्रै ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
द्रुतमार्ग परियोजनालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको छ। द्रुतमार्गमा ४० वटा पुल र ४ वटा सुरुङ निर्माण गर्ने लक्ष्यसहित १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
त्यसैगरी हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि १ अर्ब तथा मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले सडक पूर्वाधार विस्तारलाई आर्थिक वृद्धि, व्यापारिक सहजता र क्षेत्रीय सन्तुलित विकासको आधारका रूपमा अघि बढाउने नीति लिएको जनाएको छ।




