काठमाडौं,१५ जेठ । सरकारले देशभरका दलित बालबालिकालाई प्रदान गरिँदै आएको पोषण भत्ता दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल मासिक ५०० रुपैयाँ रहेको पोषण भत्ता बढाएर १ हजार रुपैयाँ पुर्याइएको जानकारी दिएका हुन्।
सरकारका अनुसार बालबालिकाको पोषण अवस्था सुधार गर्ने र सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको हो।
त्यसैगरी सरकारले सामाजिक सुरक्षा प्रणालीलाई अझ समावेशी र प्रभावकारी बनाउन स्वेच्छिक सामाजिक सुरक्षा अभियान सञ्चालन गर्ने घोषणा पनि गरेको छ।
सरकारले बालबालिका तथा विपन्न समुदायको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्ने नीति लिएको जनाएको छ।




