वीरगन्ज,१६ जेठ । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ। ‘सदस्यता शुद्धीकरण सङ्घर्ष समिति’को नाममा केही व्यक्तिहरूले सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको अवस्थामा ताला लगाएको भन्दै शाखाले उक्त कदमलाई संस्थाको गरिमामाथि प्रहार भएको ठहर गरेको छ।
शाखाका सचिव विजय कुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिमा महासङ्घ कुनै एक व्यक्ति वा समूहको नभई सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै बिना औपचारिक जानकारी गरिएको तालाबन्दीले पर्सेली पत्रकारिताको एकता, विश्वास र साखमा नकारात्मक असर परेको जनाइएको छ।
महासङ्घले सदस्यता शुद्धीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उक्त प्रक्रिया विधि, विधान र सहमतिका आधारमा अघि बढ्नुपर्ने स्पष्ट पारेको छ। व्यक्तिगत दबाब वा आग्रहका आधारमा प्रक्रिया अघि बढ्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार शाखा नेतृत्वले २०८३ जेठ ७ गते तत्कालीन अध्यक्ष अनुप तिवारीलाई औपचारिक पत्र पठाई तीन दिनभित्र निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब बुझाउन आग्रह गरेको थियो। तर, कागजात उपलब्ध नगराई उल्टै उहाँकै नेतृत्वमा तालाबन्दी गरिएको आरोप लगाइएको छ।
निवर्तमान नेतृत्वकै कार्यकालमा कायम सदस्यताबाटै नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा आवश्यक कागजात हस्तान्तरण नभएको भन्दै महासङ्घले चिन्ता व्यक्त गरेको छ। साधारण सभा गर्ने तयारी भइरहेका बेला यस्ता गतिविधिले संस्थालाई अन्योलमा पार्ने प्रयास भएको शाखाको ठहर छ।
महासङ्घले निर्णय पुस्तिकासहित सम्पूर्ण अभिलेख तत्काल बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा कार्यालयमा लगाइएको ताला अविलम्ब खोल्न आग्रह गरेको छ। साथै, संस्थाको गरिमा र पत्रकारहरूको अधिकारमाथि निरन्तर हस्तक्षेप भए कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।




