बीरगन्ज,१६ जेठ । प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको दुई प्रतिष्ठित पत्रकारिता पुरस्कारबाट पत्रकार निरज पिठाकोटे मगर र बलिराम यादव सम्मानित भएका छन्। महान शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘कृष्ण सेन इच्छुक सम्मान’ पत्रकारिता पुरस्कार पत्रकार निरज पिठाकोटे मगरलाई तथा ‘प्रेस सेन्टर नेपाल युवा क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकार बलिराम यादवलाई प्रदान गरिएको हो।
शनिबार आयोजित सम्मान समारोहमा दुवै पत्रकारलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो। सम्मानित निरज पिठाकोटे मगर कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष हुन् भने बलिराम यादव राष्ट्रिय फण्डा अनलाइनका सञ्चालक तथा प्रेस सेन्टर नेपाल पर्साका सदस्य हुन्।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका योग्य व्यक्तित्वलाई सम्मान प्रदान गरिएको भन्दै सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को योगदान स्मरण गर्दै उनको हत्यामा संलग्न दोषीमाथि कारबाही र न्याय सुनिश्चित गर्न पत्रकारहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले शहीद पत्रकारहरूको बलिदानबाट प्राप्त प्रेस स्वतन्त्रता र लोकतान्त्रिक उपलब्धिहरूमाथि विभिन्न चुनौती थपिँदै गएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि बढ्दो आर्थिक दबाबविरुद्ध सामूहिक संघर्ष आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल तथा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अजितकुमार भूजेलले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।




