spot_img

सामाजिक सञ्जालबाट उठेको शक्ति छिट्टै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो : वर्षमान पुन

spot_img
spot_img

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जाल र भर्चुअल माध्यमको प्रभावबाट उदाएका नयाँ राजनीतिक शक्तिहरूको प्रभाव दीर्घकालीन नहुने दाबी गरेका छन्। उनले देशको नेतृत्व र राजनीतिक जिम्मेवारी अन्ततः स्थापित राजनीतिक दलहरूले नै सम्हाल्ने बताएका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संगठनको एक कार्यक्रममा सम्बोधन गर्दै पुनले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको लहरका कारण केही नयाँ राजनीतिक शक्तिहरूले उल्लेखनीय सफलता हासिल गरे पनि त्यस्ता शक्तिको लोकप्रियता स्थायी नहुने टिप्पणी गरे। उनका अनुसार भर्चुअल माध्यमबाट तीव्र गतिमा उभिएको राजनीतिक प्रभाव उस्तै गतिमा कमजोर पनि हुन सक्छ।

२०७९ सालको निर्वाचनपछिको राजनीतिक अवस्थालाई स्मरण गर्दै उनले छोटो समयमै जनसमर्थन प्राप्त गरेका केही दलहरू स्थायित्व कायम गर्न संघर्षरत रहेको उल्लेख गरे। उनले मधेश केन्द्रित राजनीतिक शक्तिहरूको उदाहरण दिँदै तत्कालीन लोकप्रियता दीर्घकालसम्म कायम राख्न नसकिएको बताए।

पुनले आगामी स्थानीय तह निर्वाचनसम्म आइपुग्दा नयाँ राजनीतिक शक्तिहरूप्रति मतदाताको आकर्षण घट्न सक्ने दाबी गरे। उनले हाल केही मतदातामा निराशा देखिन थालेको उल्लेख गर्दै सुकुम्वासी बस्ती व्यवस्थापनलगायतका नीतिगत निर्णयका कारण निर्वाचनमा गरेको समर्थनप्रति पछुतो व्यक्त गर्नेहरू समेत बढ्दै गएको दाबी गरे।

उनले पछिल्लो समय सरकारभित्र देखिएको अस्थिरताको प्रसंग पनि उठाउँदै छोटो अवधिमै मन्त्रीहरू पदमुक्त हुनुपरेका घटनाले नयाँ शक्तिहरूको व्यवस्थापन क्षमता र राजनीतिक परिपक्वतामाथि प्रश्न उठाएको बताए।

राजनीतिक आन्दोलन, संघर्ष, त्याग र बलिदानको आधारमा स्थापित दलहरू दीर्घकालीन रूपमा टिक्ने उल्लेख गर्दै पुनले संगठनात्मक संरचना र जनआधार बलियो भएका दलहरूलाई विस्थापित गर्न सजिलो नहुने धारणा राखे।

उनले स्थापित राजनीतिक दलहरूले आफ्नो कार्यशैली सुधार गर्दै जनअपेक्षाअनुसार काम गर्न सके जनविश्वास पुनः प्राप्त गर्न सक्ने बताए। साथै, जनतासँगको सम्बन्ध सुदृढ गर्दै सुशासन र विकासलाई प्राथमिकता दिन सके आगामी दिनमा परम्परागत राजनीतिक दलहरू पुनः मजबुत रूपमा स्थापित हुने उनको विश्वास छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय