वीरगन्ज,१६ जेठ । सशस्त्र प्रहरी बल, नेपालले पर्साको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ८ हजार प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका अनुसार विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा खटिएको बिओपी अमरपट्टीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि निगरानी गरेको थियो। सो क्रममा प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरूले ८० कार्टुनमा राखिएका चल्ला छाडेर फरार भएका थिए।
बरामद गरिएका चल्लाको अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको जनाइएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका चल्लाहरूलाई प्रचलित कानुन तथा पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार पशु क्वारेन्टाइन कार्यालय, नेपाल प्रहरी, सम्बन्धित निकायका प्रतिनिधि, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमाक्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानीलाई थप कडा बनाइएको जानकारी दिएका छन्।




