काठमाडाैं,१६ जेठ । पूर्वी अफगानिस्तानको जलालाबाद नजिक ट्रक पल्टिँदा १० बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो।
लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजय का अनुसार दुर्घटनाग्रस्त ट्रकमा पाकिस्तानबाट फर्किरहेका अफगान परिवारहरू सवार थिए। मृतकमध्ये पाँच महिला र तीन पुरुष रहेका छन्।
प्रवक्ताका अनुसार दुर्घटना जलालाबाद–काबुल सडक खण्डमा भएको हो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
पाकिस्तान सरकारले आप्रवासी र शरणार्थीमाथि कडाइ गरेपछि ठूलो संख्यामा अफगान नागरिकहरू आफ्नो सामानसहित ट्रकमार्फत स्वदेश फर्किरहेका छन्, जसका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको बताइएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त UNHCR र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म करिब ४ लाख ४७ हजार अफगानी पाकिस्तानबाट स्वदेश फर्किएका छन्।
यसअघि पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किरहेका आप्रवासी बोकेको बस र अन्य सवारी साधनबीच भएको दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो, जसमा १९ बालबालिका रहेका थिए।




