काठमाडौं,१५ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले आफ्नो पार्टीलाई विरोधीहरूसामु टाउको लुकाएर भाग्नुपर्ने कुनै अवस्था नरहेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई ‘सुनामी’सँग तुलना गरे। उनले हालको राजनीतिक उभारका पछाडि रहेका कारणहरूबारे विभिन्न कोणबाट अध्ययन भइरहेको पनि बताए।
उनका अनुसार राजनीतिक परिवर्तनका पछाडिका पक्षहरू, निर्वाचन प्रक्रिया, सुरक्षा निकायको भूमिका, सरकार तथा निर्वाचन आयोगको गतिविधि र मतपत्र व्यवस्थापनसम्बन्धी विषयहरूबारे एक दिन सत्य बाहिर आउनेछ।
‘विरोधीहरू आक्रामक छन्, तर हामीलाई टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन,’ उनले भने। केही राजनीतिक घटनाक्रमलाई उनले ‘सुनामी’को संज्ञा दिँदै त्यसका कारणहरू क्रमशः उजागर हुँदै जाने दाबी गरे।
कार्यक्रममा उनले २०४७ सालको संविधान निर्माणदेखि नै महिला तथा दलितको सहभागिता सुनिश्चित गर्न आफूहरूले पहल गरेको स्मरण गराउँदै राष्ट्रपति, उपराष्ट्रपति, संसद् नेतृत्वदेखि विभिन्न संवैधानिक निकायमा महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको उल्लेख गरे।
उनले वर्तमान राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठाउँदै विगतका परिवर्तनमा योगदान दिने शक्तिहरूबारे पनि चर्चा गरेका थिए।




