काठमाडौं,१६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापा ले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल दलित संघको नयाँ नेतृत्व आज वा भोलिभित्र टुंगिने बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल थारु संघको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भ्रातृ संगठनहरूमा नेतृत्व हस्तान्तरण प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार यसअघि नेपाल महिला संघ र नेपाल तरुण दलको नेतृत्व चयन भइसकेको उल्लेख गर्दै अब नेविसंघ र दलित संघको नेतृत्व पनि चाँडै टुंगिनेछ।
‘हामीले महिला संघ र तरुण दलको नेतृत्व दिएका छौँ,’ उनले भने, ‘आज वा भोलिभित्र नेविसंघ र नेपाल दलित संघको नेतृत्व पनि टुंग्याउनेछौँ।’
थापाले भ्रातृ संगठनहरूलाई मनोनयनभन्दा पनि अधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि पार्टीले सहयोग गर्ने बताए।
नेपाल थारु संघको सन्दर्भमा भने उनले कुनै व्यक्ति तोकेर जिम्मेवारी नदिइएको स्पष्ट पार्दै संगठनलाई अधिवेशनमार्फत अघि बढाउन प्रोत्साहन गरिने उल्लेख गरे।




