बीरगन्ज,१६ जेठ । बीरगन्जस्थित आदर्श स्कुलले मोन्टेसरी तह पूरा गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन समारोह आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा मानवसेवा आश्रम बीरगन्जका संस्थापक देवेश गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बिपिसी कलेजका कोर्डिनेटर बासु कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई तथा अभिभावक जवाहर साह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको स्वागत मन्तव्य प्राध्यापक हरि रत्न तुलाधरले व्यक्त गरेका थिए। समारोहमा मोन्टेसरी तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई ग्राजुएसन सम्मान प्रदान गरिएको थियो। साथै बालबालिकाहरूले गीत, संगीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवेश गुप्ताले बालबालिकाको प्रारम्भिक शिक्षा नै उज्ज्वल भविष्यको आधारशिला भएको उल्लेख गरे। उनले विद्यालय र अभिभावकबीचको समन्वयले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। साथै नैतिक शिक्षा, अनुशासन र मानवीय मूल्यको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनको धारणा थियो।
विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेले मोन्टेसरी तहबाट स्नातक भएका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिको रूपमा यसलाई व्याख्या गरे। गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र बालमैत्री वातावरणमार्फत विद्यालयले विद्यार्थीहरूको क्षमता विकासमा निरन्तर काम गरिरहेको उनले बताए। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उच्च तहको अध्ययनप्रति उत्साह जगाउने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकाको प्रतिभा र प्रस्तुति देखेर खुसी व्यक्त गरेका थिए। विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको समारोहले विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ ऊर्जा थपेको विद्यालयको विश्वास रहेको छ।




