spot_img

सरकारी कारबाहीविरुद्ध बीरगन्जमा प्रदर्शन, प्रभावित परिवार आन्दोलनमा

spot_img
spot_img

बीरगन्ज,१६ जेठ । बीरगन्जको ऐतिहासिक मेनरोड क्षेत्रमा जारी सरकारी कारबाहीको विरोधमा स्थानीयवासीहरूले शनिबार मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन्। प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको जुलुसले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै आफ्नो विरोध जनाएको हो।

संघर्ष समितिका संयोजक तथा बीरगन्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्वमा आयोजित जुलुसमा सहभागीहरूले घर तथा सम्पत्तिको संरक्षण गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले स्थानीय बासिन्दाको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर”, “ऐतिहासिक नगरी बीरगन्ज बचाऊ”, “डोजर आतंक बन्द गर”, “मेनरोडलाई सहरी मार्ग घोषणा गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “सर्वोच्च अदालत न्याय गर” तथा “मानवताको सम्मान गर” जस्ता नाराहरू लगाएका थिए।

स्थानीयवासीहरूले मेनरोड क्षेत्रमा भइरहेको सरकारी कारबाहीले वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरूको भविष्य अन्योलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले कुनै पनि निर्णय गर्दा स्थानीय नागरिकको आवास, सम्पत्ति तथा मौलिक अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिएका छन्।

संघर्ष समितिले प्रभावित नागरिकहरूको मागप्रति राज्य गम्भीर नबने आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइने चेतावनी दिएको छ। समितिका अनुसार समस्या समाधानका लागि सम्बन्धित निकायसँग संवाद जारी रहे पनि अहिलेसम्म ठोस निष्कर्ष ननिस्किएकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय