बीरगन्ज,१७ जेठ । सामाजिक सेवामा सक्रिय संस्था उपकार सेवा नेपालले आफ्नो मासिक सहयोग कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ।
आश्रममा आश्रित १८ जना अपाङ्गता भएका, सुस्त मनस्थितिका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै संस्थाले ६० किलो चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ५ किलो नुनसहित सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, धनियाँ, खुर्सानीलगायत विभिन्न उपभोग्य सामग्री हस्तान्तरण गरेको हो।
आश्रम परिसरमा आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका प्रतिनिधिहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले विगतदेखि नै आश्रमका आश्रितहरूको जीवनयापन सहज बनाउन प्रत्येक महिना खाद्यान्न तथा अन्य आवश्यक जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उपकार सेवा नेपालको यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनमा महत्वपूर्ण राहत पुगेको आश्रम व्यवस्थापनले जनाएको छ।




