काठमाडौं,१७ जेठ । थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ। सार्वजनिक बिदाका कारण आइतबार अदालत बन्द रहेकाले उनलाई भोलि मात्रै उपस्थित गराइने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार अधिकारी हाल प्रहरी हिरासतमा रहेकी छन् र अदालत प्रक्रिया सोमबारबाट अघि बढाइनेछ।
प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि अधिकारीलाई थाइल्याण्डमा पक्राउ गरिएको थियो। त्यहाँको प्रहरीले उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। इन्टरपोलको समन्वयमा शनिबार राति उनलाई काठमाडौं ल्याइएको हो।
अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान हुँदै आएको छ। उनीविरुद्ध कुमार चिमोरियाले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरण मुद्दामा समेत जोडिएकी थिइन्। यस सम्बन्धमा २०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण विभागको सुझाव लिएर थप अनुसन्धान अघि बढाइएको थियो।
हाल अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको प्रहरीले जनाएको छ।
अदालतमा पेश भएपछि थुनछेक बहसमार्फत उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णय हुनेछ।




