spot_img

दीपराज पटेल बने रास्वपा बीरगन्जको नगर सभापति

spot_img
spot_img

बीरगन्ज,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीरगन्ज महानगर समितिको ऐतिहासिक प्रथम नगर अधिवेशन लोकतान्त्रिक अभ्यास र उत्साहका साथ सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि लोकतान्त्रिक निर्वाचन प्रक्रिया अपनाएर नयाँ नगर कार्यसमिति चयन गरिएको हो ।

भोटिङ प्रणालीमार्फत भएको कडा प्रतिस्पर्धाबाट रास्वपा वीरगञ्ज नगर समितिको सभापति पदमा दीपराज पटेल निर्वाचित भएका छन् । यसै गरी कार्यसमितिको अन्य प्रमुख पदाधिकारीहरू तर्फ उपसभापतिमा अशुतोष दुबे, सचिवमा गौतम श्रेष्ठ र सह-सचिवमा मुन्ना साह तेली निर्वाचित भएका छन् । प्रथम अधिवेशनले पदाधिकारीसहित विभिन्न जिम्मेवारी समेटेर कुल २३ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत र लोकतान्त्रिक मतका आधारमा गठन गरेको आयोजक समितिले जनाएको छ ।

वीरगञ्जमा भएको यस महत्त्वकाङ्क्षी नगर अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन रास्वपा केन्द्रीय कार्यालयबाट पार्टीका सङ्गठन विभाग प्रमुख शङ्कर श्रेष्ठ, नेता निराजन खड्का तथा राजन दाहालसहितको विशेष टोली वीरगञ्ज आइपुगेको थियो ।

अधिवेशन उद्घाटन तथा निर्वाचन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का रास्वपा नेता हरि पन्त, क्षेत्र नम्बर २ का सुशील साह कानु र क्षेत्र नम्बर ३ का टेक बहादुर शाक्य लगायत पार्टीका जिल्ला तथा क्षेत्र तहका शीर्ष नेताहरू, भ्रातृ सङ्गठनका प्रतिनिधिहरू एवं ठुलो सङ्ख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजक टोलीका अनुसार अधिवेशन पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित र उच्च लोकतान्त्रिक संस्कार अनुरूप सम्पन्न भएको छ ।

निर्वाचन प्रक्रिया सकिए लगतै नवनिर्वाचित नगर सभापति दीपराज पटेलसहितको टोलीले वीरगञ्ज महानगरभित्र रास्वपाको सङ्गठन विस्तारलाई तीव्र बनाउने, आम नगरबासी र जनतासँगको सम्बन्धलाई थप सुदृढ एवं जीवन्त राख्ने तथा पार्टीको केन्द्रीय नीति, योजना र वैकल्पिक राजनीतिको एजेन्डालाई स्थानीय टोल–टोलसम्म प्रभावकारी रूपमा पुर्‍याउने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय