spot_img

बालेनको सीमा अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति

spot_img
spot_img

काठमाडौं,१८ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हितविपरीत सन्देश दिएको आरोप लगाएका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखेका थिए। उनले नेपाल मात्र नभई केही स्थानमा नेपालले पनि भारतको भूमि मिचेको हुनसक्ने बताएका थिए, जसले विवाद समाधानका लागि दुवै पक्षले अध्ययन र संवाद आवश्यक रहेको संकेत गरेका थिए।

यस अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको भनाइले नेपालको भूमि फिर्ता गर्नुपर्ने माग कमजोर पार्ने प्रयास भएको दाबी गरेको छ। विशेषगरी लिम्पियाधुरा–लिपुलेक क्षेत्र फिर्ताको मागलाई ओझेलमा पार्न खोजिएको आरोप पार्टीको छ।

विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको स्पष्ट धारणा कमजोर बनाउने र राष्ट्रिय स्वार्थमा अस्पष्टता ल्याउने उल्लेख गरिएको छ। साथै, सिमाना सुरक्षाप्रति सरकार गम्भीर नभएको आरोप समेत लगाइएको छ।

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठक पूर्वसूचना बिना सञ्चालन गरिएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाएको छ। उता, सरकार पक्षले भने सीमा विवादलाई संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्ने नीति नै उपयुक्त हुने बताउँदै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय